संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, आर्थिक विकास र पारदर्शी सेवा प्रवाहका मुद्दालाई केन्द्रमा राख्दै देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको उत्साहपूर्ण वातावरण देखिएको छ।
नवयुवा (जेनजी) पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनको कार्यादेशअनुसार सुशासन, रोजगारी र जवाफदेही नेतृत्वको मागलाई प्राथमिकतामा राख्दै आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि मतदान भइरहेको छ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० गरी कुल २७५ प्रतिनिधिसभा सदस्य चयन गरिने छन्। संविधान जारी भएको करिब एक दशकपछि हुन लागेको यो निर्वाचनले देशलाई नयाँ रूपान्तरणको मार्गतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।
मतदानस्थलतर्फ जाने तयारीमा रहेका मतदाता, सामाजिक अभियन्ता तथा जेनजी आन्दोलनका अगुवाहरूले निर्वाचनमार्फत नयाँ नेपाल निर्माणका लागि स्पष्ट जनादेश प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ता मोनिका निरौला, काठमाडौँको कागेश्वरी मनोहरा–९ निवासी शिक्षासेवी घनश्याम दाहाल र काठमाडौँ क्षेत्र नं. ८ की मतदाता विमला महर्जनले प्रतिनिधिसभा निर्वाचनले देशलाई सुशासन, आर्थिक विकास, स्वदेशमै रोजगारी सिर्जना तथा प्रविधिमैत्री विकासको दिशातर्फ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।
त्यसैगरी माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र रक्षा नेपालका अध्यक्ष मेनुका थापाले निर्वाचनमार्फत सुशासन, पारदर्शी राज्य प्रणाली तथा जवाफदेही नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै महिलाको सुरक्षा र रोजगारीका पक्षमा काम गर्ने नेतृत्व आउनुपर्ने धारणा राख्नुभएको छ।
‘सुशासनको प्रत्याभूति आवश्यक’
सामाजिक अभियन्ताहरूले आगामी संसद् र सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति दिनुपर्ने बताएका छन्।
अभियन्ता मोनिका निरौलाले प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्दै लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन आगामी संसद्ले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो,
“निर्वाचनपछि गठन हुने संसद् र सरकारले देशलाई यथास्थितिबाट गतिशीलतातर्फ अघि बढाउने जिम्मेवारी वहन गर्नुपर्ने छ।”
शिक्षासेवी घनश्याम दाहालले पनि प्रतिनिधिसभा निर्वाचनसँग सुशासन, आर्थिक विकास र समुन्नति प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार यो निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकाले प्रगतिशील सोच भएका नेतृत्व चयन हुनु आवश्यक छ।
महिलाको सुरक्षा र रोजगारीमा ध्यान
महिला अधिकारकर्मीहरूले आगामी संसद्ले महिलाको सुरक्षा, स्वरोजगारी र सामाजिक सशक्तीकरणका विषयमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले बालिका तथा महिलाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति बनाउनुपर्ने बताउनुभयो।
त्यसैगरी रक्षा नेपालका अध्यक्ष मेनुका थापाले महिलाको प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य तथा शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
सक्षम नेतृत्वले मात्रै राष्ट्रको उन्नति
सामाजिक अभियन्ता निरौलाले देशको उन्नति सक्षम र दूरदर्शी नेतृत्वबाट मात्रै सम्भव हुने बताउनुभयो। उहाँले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सार्वजनिक संस्थाको सुदृढीकरण तथा संवैधानिक निकायहरूको स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै अभियन्ता थापाले भूराजनीति र परराष्ट्र सम्बन्धमा सन्तुलन कायम गर्न सक्ने परिपक्व नेतृत्वको आवश्यकता औँल्याउनुभयो।
मतदाता विमला महर्जनले पनि नीतिगत तथा प्रणालीगत सुधारमार्फत देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्षम नेतृत्व चयन हुनु आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,
“यो निर्वाचनले ऐतिहासिक कार्यादेश दिन सक्छ। अब नागरिकको विश्वासलाई काममार्फत प्रमाणित गर्ने समय आएको छ।”