२३ फाल्गुन २०८२ , शनिबार

झापा–५ मा बालेन्द्र शाहको विशाल जित, केपी ओली पराजित

News
२३ फाल्गुन, काठमाण्डौँ ।

झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ।

अन्तिम मतपरिणामअनुसार शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै प्रभावशाली जित हासिल गर्नुभएको हो।

मतगणनाको अन्तिम परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ भने ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको छ। यससँगै शाह र ओलीबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ।

यस निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङ रहनुभएको छ। उहाँले ९ हजार २३३ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसकी मन्दरा चिमरियाले १ हजार ८२१ मत, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ मत तथा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १ हजार ४६१ मत प्राप्त गर्नुभएको छ।

अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो।

विजयी प्रमाणपत्र लिन तथा विजय घोषणा कार्यक्रममा सहभागी हुन बालेन्द्र शाह मतगणनास्थल पुगेका बेला नेपाली सेनासहित सुरक्षा निकायको विशेष सुरक्षा व्यवस्था परिचालन गरिएको थियो।