१८ जेष्ठ २०८२ , आईतवार

मनको मझेरीमा- कामना नेपाल

News
कामना नेपाल

---------------

विछोडको मृत्यु
म र ऊ – हामी दुवै मृत थियौं, तर मृत्युका स्वरूप पृथक् थिए।
उनले मुटु साथ लगिन्, म भने आशाको त्यान्द्रो समाएर मृतवत् बाँचिरहेँ।
यो तन त चलिरह्यो, तर आत्मा त्यहीँ कतै अतीतमा अड्किएर रह्यो।
उनी भावशून्य भइन्, म केवल भावनाहरूको पुञ्ज भएर छटपटाइरहेँ।

-----

आकस्मिक अनुराग
हाम्रो भेट अनायासै भयो, दुवै अपरिचित, दुवै मौन।
शब्दहरू सीमित थिए, तर नयनहरू वार्तालाप गरिरहेका थिए।
उनी पनि अनभिज्ञ, म पनि विस्मित, तथापि त्यो क्षण, लाग्यो, हामी पूर्वपरिचित हौं।
न कुनै सम्बन्धको सूत्र, न परिचयको आधार, तर अन्तरमनले स्वीकार्यो – यो भेट साधारण थिएन, यो त प्रारब्ध थियो।

-----

अतृप्त समर्पण
म तिमीमा यसरी विलीन भएँ, जसरी फूलमा सुगन्ध विलीन हुन्छ !
हृदयले त अगाध प्रेम गर्‍यो, तर तिमीले समयको बहानामा सम्झौता रोज्यौ।
तिम्रो अनुपस्थितिको दिन त आउला, तर तिमीबिनाका ती पलहरूमा जीवन हुनेछैन।
सपनाहरू त दिउँसै सजाएको थिएँ, तर तिमी त रातको चन्द्रमाझैँ दूर, शीतल र अप्राय भयौ।
तिमीलाई प्रेम गर्न कसैको स्वीकृति कहाँ चाहिन्छ र! यो त हृदयले स्वस्फूर्त गरिसकेको हुन्छ, जन्मजन्मान्तरदेखि।

-----

संवादको माधुर्य
गफ उनको र मेरो, प्रिय गफ हाम्रो, साँझको जून झैं शीतल,
शब्दहरू मीठा, न तीता न खल्ला, हृदय छुने धुन।
कहिले अमूल्य नासो, कहिले गहिरो रहस्य,
मनका कुराले पाउँछन् न्यानो, आत्मीय स्पर्श।
उनी जब हाँस्छिन्, म पुलकित हुन्छु, शब्दैशब्दमा सिंगो संसार सजाउँछु।
सजिला कुरा, तर कति गहिरा अर्थ, गफ हाम्रो जसले बुन्दछ सम्बन्धमा स्नेहको पर्थ।