१४ बैशाख २०८२ , आईतवार

केही काम नगरेको भन्दै रेणुप्रति जङ्गिए हर्क, भन्छन्ः तिम्रै बुबाले केही योजना दिएनन्

News
८ बैशाख, काठमाण्डौँ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको भनाइप्रति कडा प्रतिक्रिया दिएका छन्। रेणु दाहालले हर्क साम्पाङले ठूला योजनामा काम नगरेको भन्ने अभिव्यक्ति दिएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्।

साम्पाङले रेणु दाहालका बुबा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री हुँदा धरानका लागि ठूला योजना नदिएको आरोप लगाएका छन्। उनले भनेका छन्, “रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थ्यो भनेर भनेछ ! रेनुजी, तपाईँको बाबु प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने?”

साम्पाङले रेणु दाहालको पार्टीले विभेद गरेको आरोप लगाउँदै थप भने, “एयरपोर्ट मागेको तपाईंकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाईंकै बाबु प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने! अहिलेका पार्टी ठिक्छैन रैछ, कुनै पनि विभेद गर्छ!”

उनले अगाडि थपे, “तपाईंको बाबुले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु!”

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको उदाहरण दिँदै साम्पाङले बिना पैसा पनि विकास गर्न सकिने दाबी गरेका छन्। उनले भने, “बालेन जीको कुरा नगर्नु, उहाँको बजेट २६ अर्ब माथि छ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले! बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन, देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु! भिजन भनेको के हो, त्यो म सिकाउँछु!”

साम्पाङले श्रम र श्रमिकलाई अपमान गर्नेहरू सामन्त र दलाल भएको आरोप लगाएका छन्।