स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने स्वास्थ्य सेवाहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह र प्राप्त गर्ने स्थान लगायतका विवरण नयाँ डिजाइन गरिएको वेबसाइटमा राखेको हो ।
मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यसैगरी मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ । सेवा प्राप्त गर्न आवश्यक कागजात लगायतका विवरण पनि वेबसाइटमा राखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न निर्देशन दिएका थिए । सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुने गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले बताए । यसअघि मन्त्री पौडेलले सङ्घीय अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।