१४ बैशाख २०८२ , आईतवार

'सरकारको काम सकारात्मक, सत्ता साझेदार दलमा कुनै समस्या छैन'

News
४ बैशाख, काठमाण्डौँ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारले राम्रो काम गरिरहेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी थिए। बैठकले आर्थिक सुधार र राजनीतिक स्थिरताका लागि सरकार सही बाटोमा रहेको ठहर गरेको छ। बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारको कामलाई अझै गति दिनुपर्ने समझदारी भएको र सत्ता सहकार्यमा कुनै समस्या नरहेको बताए।

बैठकमा सहभागी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारका कामकारबाही सकारात्मक रहेको बताए। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमाले महासचिव शङ्कर पोखरेल लगायतका नेताहरू पनि बैठकमा सहभागी थिए।

शिक्षकका माग संसद्बाटै सम्बोधन हुने

बैठकले शिक्षकका मागहरू संसद्बाटै सम्बोधन गर्ने निर्णय गरेको छ। गृहमन्त्री लेखकले सरकारले शिक्षकसँग संवाद गरिरहेको र आगामी अधिवेशनबाट उनीहरूका माग सम्बोधन हुने बताए। उनले शिक्षा विधेयकलाई संसद्ले चाँडै टुङ्ग्याउने र सरकारले यसमा सहजीकरण गर्ने जानकारी दिए।

कांग्रेसभित्र सरकारको आलोचना भइरहेको विषयमा उनले आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशातर्फ गएकाले सरकारले राम्रो काम गरिरहेको बताए। नेपाल राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले पनि आर्थिक सुधारको सङ्केत गरेको उनले उल्लेख गरे।

गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्ने र यस विषयमा दलहरूबीच कुनै समस्या नरहेको पनि गृहमन्त्री लेखकले जानकारी दिए।

thumb_upthumb_down