२२ जेष्ठ २०८२ , बिहीबार

हिमाल आरोहण सुरक्षित बनाउन सरकार क्रियाशील : प्रधानमन्त्री

News
२० जेष्ठ, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए। "हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो," उनले भने। अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको उनले बताए।

प्रधानमन्त्री ओलीले म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए।

पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे।

सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गरेका थिए।

सहमति कार्यान्वयन नहुँदा यातायात व्यवसायीको आन्दोलन जारी, यात्रुलाई सास्ती

काठमाडौं, [मिति]: यातायात व्यवसायीले सरकारसँग सहमति गरे पनि आन्दोलन नरोक्दा आज पनि यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन्।

गए राति सरकारसँग ६ बुँदे सहमति भए पनि व्यवसायीले गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली नहटाएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको बताए। चालकहरूको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको उनले जानकारी दिए।

सहमतिमा यातायातसम्बन्धी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार सुझाव सिफारिस कार्यदल गठन गर्ने, ऐन, कानुन, नियम र निर्देशिकाहरूमा यातायात व्यवसायी तथा यातायात मजदुरहरुका मागलाई सम्बोधन गर्ने, स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमतासम्बन्धी नियम कानुन कार्यान्वयन, विदेशी सवारी साधनलाई भन्सार नाकामै पाइराखेको ७२ घन्टे सुविधा सम्बन्धमा सुझाव पेस गर्ने, सार्वजनिक सवारी साधनको आयु सम्बन्धमा सर्वोच्चको परमादेशको यथाशीघ्र कार्यान्वयनलगायतका विषय रहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारको निर्णयको प्रतिक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताए।

सरकारी वार्ता टोलीका संयोजक कृष्णराज पन्थले आज अपराह्नसम्ममा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।