१४ बैशाख २०८२ , आईतवार

बाटोमा दुःख पाएपछि विदेशी पर्यटकको गुनासो: काठमाडौंबाट बुटवल गाडीमा नआउनु

News
७ बैशाख, काठमाण्डौँ ।

नेपालमा बसोबास गर्दै आएकी फ्रेन्च पर्यटक माया घर्तीले हाल काठमाडौंबाट बुटवल सडक मार्ग हुँदै यात्रा गर्दाको अनुभव 'जीवनकै सबैभन्दा भयानक र पागलपनपूर्ण' भएको बताएकी छन्। उनले विशेषगरी नारायणगढदेखि बुटवलसम्मको सडक खण्डलाई 'नरकको बाटो' र 'पागलपनपूर्ण' भनेर संज्ञा दिएकी छन्।
एक भिडियो सन्देशमार्फत आफ्नो अनुभव सुनाउँदै आफूलाई माया घर्ती भनेर चिनाउने ती फ्रेन्च पर्यटकले रातिको समयमा यात्रा गर्दा धेरै धूलो उडेको, जङ्गलमा आगो लागेको देखेको र निकै डरलाग्दो अनुभव भएको बताएकी छन्। उनले यात्रामा समय लाग्ने अपेक्षा गरे पनि एउटै सानो खण्डमा यति धेरै बेर फसिने अपेक्षा नगरेको बताएकी छन्।
"बाटो पागलपनपूर्ण छ," उनले भनेकी छन्, "अहिले बाटो हुँदै बुटवल आउनु कुनै पनि हालतमा सल्लाह दिइँदैन।" उनले ट्राफिक जाममा एक घण्टादेखि फसेको र एक सेन्टिमिटर पनि अगाडि बढ्न नसकेको अवस्था सुनाएकी छन्। उनले रात सडकमै बित्ने सम्भावना देखेको र त्यो लामो यात्रा हुने बताएकी छन्।
विशेषगरी दाउन्ने क्षेत्रको अवस्थाबारे बोल्दै उनले अघिल्लो रात मानिसहरू जाममा फसेर बिहान मात्रै अगाडि बढ्न सकेको जानकारी दिएकी छन्। ५ सेकेन्ड गाडी चलाउने र ३० मिनेट रोकिने अवस्था रहेको उनले बताएकी छन्।
यो 'निकै खराब खबर' र 'धेरै लामो लाइन' भएको भन्दै उनले त्यो रात जामबाट निस्कने आशा व्यक्त गरेकी छन्। "यो अलिकति पनि चलिरहेको छैन? हामी कसरी सुत्ने? कसरी खाने? कसरी पिसाब फेर्ने?" भन्दै उनले हैरानी व्यक्त गरेकी छन्।
उनले सामान्यतया 'गन्तव्य भन्दा यात्रा महत्त्वपूर्ण हुन्छ' भनिने कुरा बुटवलको यात्राको हकमा लागू नहुने बताएकी छन्। रात परिसकेको र केही पनि नदेखिएको अवस्थाबारे पनि उनले उल्लेख गरेकी छन्।
ती पर्यटकले बुटवल जानका लागि अहिले गाडीको बाटो प्रयोग गर्नुको सट्टा हवाई यात्रा गर्न वा पोखरा हुँदै पाल्पा (तानसेन) भएर जान सल्लाह दिएकी छन्। यो बाटो धेरै छिटो हुने र यो (नारायणगढ-बुटवल) भन्दा खराब हुन नसक्ने उनको भनाइ छ। उनले जाममा फसेको र सडकको खराब अवस्था देखाउने केही भिडियो क्लिप्स पनि सेयर गरेकी छन्।