परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ। सगरमाथा संवादमा भाग लिन काठमाडौं आएका भारतीय मन्त्री यादवसँग परराष्ट्रमन्त्री राणाले ‘साइडलाइन’ भेटवार्ता गरेकी हुन्।
भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो। मन्त्री राणाले सगरमाथा संवादको पहिलो संस्करणमा सहभागिता जनाएकोमा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद दिइन्।
नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको प्रसङ्ग उल्लेख गर्दै दुवै मन्त्रीले यो सम्झौता दुई देशका लागि महत्वपूर्ण रहेको बताए। बैठकमा दुई देशबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, औपचारिक बैठक र विविध विषयमा भइरहेका छलफलहरूबारे पनि कुराकानी भएको थियो।
साथै, जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा भएकाले यसको असरलाई कम गर्न सहकार्य गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो। भारतीय मन्त्री यादव सगरमाथा संवादमा सहभागी हुन बिहीबार काठमाडौं आइपुगेका हुन्।