परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणले समाजमा सकारात्मक प्रभाव पार्ने र देशलाई विकासको मार्गमा अग्रसर गराउन सक्ने बताएकी छिन्। नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
उनले प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमहरूमा आएको परिवर्तनले गलत सूचनाको फैलावटलाई बढावा दिएको बताउँदै यसको गलत प्रयोगले लोकतन्त्रको जगलाई नै कमजोर बनाउन सक्ने खतरा औंल्याइन्। उनले लोकतन्त्रको आधारशिलालाई क्षति पुर्याउने यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री देउवाले लोकतन्त्रमा बहस, आलोचना र फरक विचारलाई स्वीकार गरिने भएकाले बहुलवादलाई समर्थन गर्ने स्वतन्त्र प्रेसले आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक समृद्धिको वातावरणलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनले स्वतन्त्र प्रेसले समाजलाई सही दिशामा डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरिन्।