सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटफर्म मेटा सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा उनले यस्तो जानकारी दिएका हुन्। मन्त्री गुरुङले मेटाले नेपालमा दर्ता हुन पटक पटक गरिएको आग्रहलाई अटेर गरेको स्पष्ट पारे।
उनले तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको जनाउँदै अबको सात दिनभित्र दर्ता प्रक्रिया पूरा नभए मेटामाथि प्रतिबन्ध लगाउने चेतावनी पुनः दिए। मन्त्री गुरुङले नेपालबाट निरन्तर रकम मेटामा गइरहेको औँल्याउँदै उक्त कम्पनीले नेपालमा दर्ता भएर कर तिर्नुपर्ने आवश्यकतामा जोड दिए। मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको अहम् देखाएको टिप्पणी गर्दै उनले मुलुकको स्वाधीनता पैसासँग साट्न नसकिने जिकिर गरे।
“मेटा भन्ने वित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ? पर्छ नि ।,’’ सञ्चारमन्त्री गुरुङले भने, ‘‘तीन पटक भयो । म आउने वित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अत्ति भर्खर म्याद सकियो । अब सात दिनभन्दा बढी दिन्न मैले । यसबिचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौं । देशभन्दा ठुलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ? इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।”
हालसम्म टिकटक, भाइबर र वी–टक मात्र नेपालमा दर्ता भएको जानकारी पनि उनले दिए।