१ असार २०८२ , आईतवार

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

News
१५ जेष्ठ, काठमाण्डौँ ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन्। बैठकमा उहाँले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

अर्थमन्त्री पौडेलले पेस गरेको आर्थिक सर्वेक्षणमा यस वर्ष आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, प्रदेशगत रूपमा मधेस, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदरभन्दा माथि रहने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योगको १२ दशमलव ८३ र सेवा क्षेत्रको योगदान ६२ दशमलव शून्य एक रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए।

चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रा स्फीति चार दशमलव ७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक आज बेलुका ५ः१५ मा बस्नेछ।