नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको आवश्यकताले गर्दा प्रमुख प्रतिस्पर्धी दलहरू, एमाले र नेपाली कांग्रेस, एक ठाउँमा आउनुपरेको बताएका छन्। मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्ने क्रममा उनले राजनीतिक स्थिरता दिन र खस्किँदो अर्थतन्त्रलाई सम्हाल्न यो सहकार्य आवश्यक भएको कुरा स्पष्ट पारे।
"समयको मागले नै एमाले र कांग्रेसजस्ता प्रतिस्पर्धी दलको सरकार बनेको हो। देशमा स्थिरता नभएर, अर्थतन्त्र ओरालो लागेकाले यी दुई पुराना दल मिल्नुपर्यो," अध्यक्ष ओलीले भने।
उनले अघिल्लो सरकारले बिगारेको अर्थतन्त्रलाई अहिलेको सरकारले लयमा ल्याउन थालेको दाबी गरे। प्रधानमन्त्री विदेशबाट फर्किएपछि सरकार ढल्छ भन्ने हल्ला चलाउनेहरू अहिले चुप लागेको तर्फ पनि उनले संकेत गरे।
पार्टी सञ्चालनबारे बोल्दै ओलीले आलोचनात्मक चेतका नाममा जथाभावी विरोध गर्ने तरिका हटाउनुपर्ने विचार राखे। उनले पार्टी बाहिरका चुनौतीसँग लड्न नसक्ने तर पार्टीभित्र मात्रै आलोचना गर्ने प्रवृत्ति ठीक नभएको बताए। "अहिले कस्तो देखियो भने, पार्टीभित्र आलोचनात्मक चेत हुने तर बाहिर विरोध गर्नै नसक्ने, झुटको खण्डन गर्न नसक्ने। पार्टीभित्र त एकताको चेत चाहियो नि," उनले भने, "कमीकमजोरी नभएको मान्छे कहाँ भेटिन्छ र? सबैलाई सबै मन पर्छ भन्ने हुँदैन।"