नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले नेपालसँगको पुरानो मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्न आफू क्रियाशील रहने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा नेपाल भ्रमणमा आएका राजदूत क्रिस्टेनले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र जलवायु परिवर्तनमा लगानी बढाउन डेनमार्क सरकार सकारात्मक रहेको जानकारी दिए।
उनले नेपालमा पर्यटनको विशिष्ट सम्भावना रहेको औंल्याउँदै नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र जीवनशैली आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने बताए। उनले डेनमार्कबाट पर्वतारोहण र पदयात्राका लागि धेरै पर्यटक नेपाल आउने गरेको र यसलाई थप बढाउन आफ्नो प्रयास रहने बताए।
राजदूत क्रिस्टेनले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र हिमतालमा परेको असरलाई डेनमार्क सरकारले गम्भीर रूपमा लिएको र यस समस्याको समाधानमा सहकार्य गर्न सकिने बताए। उनले सूचना प्रविधि, विधि हस्तान्तरण र नवीकरणीय ऊर्जामा नेपालमा लगानीको उच्च सम्भावना रहेको पनि औंल्याए।
नेपाल भ्रमणका क्रममा राजदूत क्रिस्टेनले परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। उनले हिमालयन उद्धार सङ्घका पदाधिकारीहरूसँग पनि भेट गरी हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरे।
नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको मित्रता र सहयोगलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु आफ्नो प्राथमिकता रहेको बताए।