नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनलाई सुव्यवस्थित, अनुशासित र मर्यादित बनाउन १२ बुँदे आचारसंहिता लागू गरेको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजक तथा व्यवस्थापनमा संलग्न सबैले कार्यक्रम अवधिभर यो आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ।
एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार महाधिवेशनलाई सफल र अनुशासित ढंगले सञ्चालन गर्न यो आचारसंहिता जारी गरिएको हो। यसले कार्यक्रमको गरिमा बढाउन र तोकिएकै समयमा सबै कार्यक्रम सम्पन्न गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।
आचारसंहितामा के-के छन्?
जारी गरिएको आचारसंहितामा महाधिवेशनलाई सुसंस्कृत र मर्यादित बनाउन सहयोग गर्ने, आयोजकले तोकेको समय तालिकाको पूर्ण पालना गर्ने, र कार्यक्रम अवधिभर मर्यादित र सौहार्दपूर्ण व्यवहार प्रदर्शन गर्नुपर्ने जस्ता बुँदाहरू समावेश छन्। सहभागीहरूले बोल्नका लागि हात उठाउनुपर्ने र अनुमति पाएपछि मात्र तोकिएको समयभित्र आफ्नो भनाइ राख्नुपर्नेछ।
यसैगरी, महाधिवेशन स्थललाई सफा, सुग्घर र स्वच्छ राख्ने, तोकिएको समयमा उपस्थित हुने र कार्यक्रम समापन भएपछि मात्र कार्यक्रम स्थल छोड्ने नियम बनाइएको छ। महाधिवेशनको पूर्ण सत्र र समूहगत छलफलमा सबै प्रतिनिधिहरूको सक्रिय सहभागिता अनिवार्य गरिएको छ।
धूम्रपान, मद्यपान र मोबाइल प्रयोगमा प्रतिबन्ध
आचारसंहिताले महाधिवेशन स्थलभित्र धूम्रपान, मद्यपान र सूर्ती सेवनलाई पूर्ण रूपमा निषेध गरेको छ। साथै, कार्यक्रम चलिरहेको समयमा मोबाइल फोनलाई अनिवार्य रूपमा स्वीच अफ वा साइलेन्ट मोडमा राख्नुपर्नेछ। उद्घाटन सत्रबाहेक अन्य कार्यक्रममा आयोजकको अनुमतिबिना भिडियो तथा अडियो रेकर्ड गर्नसमेत प्रतिबन्ध लगाइएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि खटाइएका स्वयंसेवकहरूलाई विशेष अधिकार दिइएको छ। उनीहरूले सहभागीहरूको परिचयपत्र जाँच गर्न सक्नेछन् र आचारसंहिता पालना गराउन सहजीकरण गर्नेछन्।