नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो।
कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई कपनस्थित उनको निवासबाट पक्राउ गरिएको जानकारी दिएका छन्। उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइने बताइएको छ। राईमाथि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको छ।
२०७४ सालमा सहकारीको सहसचिव रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। यसअघि सोही सहकारीको रकम हिनामिना गरेको आरोपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, रवि लामिछाने, पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
स्वर्णलक्ष्मी सहकारीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलेको थियो।
यसअघि अदालतले सोही मुद्दामा रवि लामिछानेलाई ६० लाख र छविलाल बञ्जाडे जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। राई कांग्रेसको १४औँ महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।