१३ बैशाख २०८२ , शनिबार

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

News
९ बैशाख, काठमाण्डौँ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् । सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्री तथा सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सके प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको र पछिल्लो समय केही सुधार आएको उनको भनाइ छ ।

जनशक्ति पर्याप्त हुँदा पनि अपेक्षित प्रतिफल आउन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र जनताले अनुभूति गर्नेगरी बजेटको तयारी गर्न उनले मन्त्रीहरूलाई निर्देशन दिए । अनुशासनको नाममा काम अड्काएर राख्ने नभई निकास निकाल्नेगरी काम गर्न उनले सुझाए ।