नयाँबानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा प्रदर्शनका लागि भेला भएका शिक्षकहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दा झडप सुरु भएको हो।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। सोही क्रममा तनाव बढ्न गयो र आक्रोशित भिडले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो।
अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ। प्रहरीले पानीको फोहोरा प्रयोग गरी भिडलाई तितरबितर पारेको छ।
प्रत्यक्षदर्शी शिक्षक पूर्ण ब्लोनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन्। उनले भने, ‘हामी शान्तिपूर्ण रूपमा आफ्नो माग राखेर आन्दोलन गरिरहेका थियौं। तर, आन्दोलनमा घुसपैठ भयो। एउटा समूहले घेरा तोड्न खोजेपछि झडप भएको हो र पानीको फोहोरा प्रहार भयो।’ उनले झडपमा केही शिक्षक घाइते भएको पनि बताएका छन्।
शिक्षक तथा कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल समेत घोषणा गरेका छन्। यस अवधिमा शिक्षक प्रतिनिधि र सरकारबीच सहमतिको प्रयास भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन।
सरकारी शिक्षकहरूको निरन्तर आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएका छन्। वैशाख ११ गतेका लागि निर्धारित कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ।