१८ जेष्ठ २०८२ , आईतवार

माध्यमिक तहमा स्वास्थ्य विषय अनिवार्य गर्न माग

News
३ जेष्ठ, काठमाण्डौँ ।

किशोरकिशोरीलाई सही मार्गमा डोर्‍याउन माध्यमिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्नुपर्नेमा जोड दिइएको छ।

बियोन्ड बेजिङ समितिले शुक्रबार आयोजना गरेको 'बृहत्तर यौनिकता शिक्षा' विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि विद्यार्थीले लाजका कारण नपढ्ने र शिक्षकले पढाउन नसक्ने अवस्था रहेको बताइन्। कक्षा ९ र १० मा स्वास्थ्य शिक्षा ऐच्छिक विषयमा सीमित भएकाले सबै विद्यार्थीले पढ्न नपाउने उनले जानकारी दिइन्।

अभियानकर्मी तामाङले माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्ने बताउँदै किशोरकिशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा फस्नबाट जोगाउन सकिने बताइन्। उनले यस्ता विषयमा सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्नेमा जोड दिइन्।