३१ भाद्र २०८२ , मंगलवार

आजैदेखि सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू नेपालमा पूर्ण रूपमा बन्द

News
१९ भाद्र, काठमाण्डौँ ।

नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई आजैदेखि पूर्ण रूपमा बन्द गर्ने कडा निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), ह्वाट्सएप, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मी वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रोलगायतका सामाजिक सञ्जालहरू नेपालमा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को २०८२ भदौ १० गतेको बैठकले नेपालमा सञ्चालित सबै सामाजिक सञ्जालहरूलाई एक हप्ताभित्र सूचीकरणमा आउन निर्देशन दिएको थियो। उक्त म्याद बुधबार राति समाप्त भएको थियो। मन्त्रालयका अनुसार, हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभले मात्र सूचीकरण प्रक्रिया पूरा गरेका छन्। यी प्लेटफर्महरूले निर्वाध सञ्चालनको अनुमति पाएका छन्। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालमा बन्द गरिनेछ। यी सञ्जालहरूले सूचीकरण प्रक्रिया पूरा गरेमा पुनः सञ्चालनको अनुमति दिइनेछ।” 

यो निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। मन्त्रालयले सूचीकरण प्रक्रियालाई पारदर्शी र सहज बनाउन सबै सञ्जालहरूलाई आह्वान गरेको छ।