१ जेष्ठ २०८२ , बुधबार

ट्रम्पलाई टर्की भ्रमणको जेलेन्स्कीको आग्रह, रुससँग वार्ता गर्न तयार

News
३० बैशाख, काठमाण्डौँ ।

टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गरेका छन् ।

एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताएका छन्। एक्समा पोस्ट गरिएको सन्देशमा जेलेन्स्कीले ‘रुसी गोलाबारी र आक्रमणहरू जारी रहेको पनि आरोप लगाएका छन्। युक्रेनले कूटनीतिलाई समर्थन गरेको उल्लेख गर्दै उनले अमेरिकी राष्ट्रपतिले बैठकलाई समर्थन गर्ने र यसमा सहभागी हुने अवसर पाउने आशा व्यक्त गरे।

“युक्रेनले सधैँ कूटनीतिलाई समर्थन गरेको छ। म टर्की जान तयार छु। दुर्भाग्यवश, विश्वले अझै युद्धविरामका लागि गरिएका धेरै प्रस्तावका बारेमा रूसबाट स्पष्ट जवाफ पाएको छैन”, उनले भनेका छन्। “रूसी गोलाबारी र आक्रमणहरू जारी छन्। प्रत्यक्ष बैठकको प्रस्तावबारे मस्को दिनभर मौन रहेको छ। एक विचित्र मौन। एउटा या अर्को तरिकाले, रूसले यो युद्ध अन्त्य गर्नुपर्नेछ – र जति चाँडो, त्यति राम्रो। हत्या जारी राख्नुको कुनै अर्थ छैन।”

राष्ट्रपति एर्दोगान (टर्कीका राष्ट्रपति) ले बैठकको आयोजना गर्न पूर्ण तयारी व्यक्त गर्नुभएको बताउँदै उनले राष्ट्रपति ट्रम्पले बैठकलाई पूर्ण समर्थन गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गर्दै मे १५ (जेठ १ गते) देखि नै ढिलाइ नगरी वार्ता सुरु गर्नुपर्ने बताएका थिए। रुसी विदेश मन्त्रालयद्वारा साझा गरिएको टेलिभिजन सम्बोधनमा पुटिनले वार्ता ‘कुनै पूर्वशर्त बिना’ हुनुपर्ने र टर्कीले राष्ट्रपति रेसेप तैयप एर्दोगानको नेतृत्वमा फेरि आयोजकको भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका छन्।

पुटिनले स्थानको छनोटबारे थप व्याख्या गर्दै टर्की सहकर्मीहरूले यस्तो वार्ता आयोजना गर्न आफ्नो सेवाहरू प्रस्ताव गरेका थिए र राष्ट्रपति एर्दोगानले विगतमा ती वार्ताहरू आयोजना गर्न धेरै काम गरेको स्मरण गराएका छन्। उनले पश्चिमी प्रभावले ती वार्ताहरूमा भएको प्रगतिलाई अवरुद्ध गरेको सङ्केत गरेका छन्।

सन् २०२२ फेब्रुअरीमा रुसले पूर्ण रूपमा आक्रमण गरेपछि तेस्रो वर्षमा प्रवेश गरेको रुस–युक्रेन युद्ध युरोपको सबैभन्दा विनाशकारी द्वन्द्वमध्ये एक बनेको छ।