ह्वाइट हाउसको वेबसाइटमा कोभिड-१९ को उत्पत्तिबारे 'ल्याब-लिक' थ्योरी (प्रयोगशालाबाट चुहिएको भन्ने सिद्धान्त) लाई लिएर नयाँ पृष्ठ सुरु गरिएको छ। यसमा पूर्व राष्ट्रपति जो बाइडेन र पूर्व प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौसीमाथि कोरोनाभाइरसको 'लिक' थ्योरीलाई दबाएको आरोप लगाइएको छ।
उक्त पृष्ठमा कोभिड-१९ महामारीको कारण बनेको भाइरस SARS-CoV-2 चीनको वुहानस्थित संक्रामक रोगको प्रयोगशालाबाट निस्केको र यो मानव निर्मित भाइरस भएको दाबी गरिएको छ।
जनवरीमा, सीआईएले एक रिपोर्ट जारी गर्दै प्रयोगशालामा चुहावटको सम्भावना रहेको निष्कर्ष निकालेको थियो, तर त्यो निष्कर्षमा कम विश्वास व्यक्त गरिएको थियो। विश्व स्वास्थ्य संगठन (WHO) ले पनि सबै परिकल्पनाहरूमाथि विचार गरिरहेको जनाएको छ।
नयाँ वेबपेजमा "ल्याब लिक, कोभिड-१९ को वास्तविक उत्पत्ति" भन्ने ब्यानर राखिएको छ।
'ल्याब-लिक' पृष्ठमा फौसी र बाइडेनले कोरोनाभाइरसको उत्पत्तिको सत्यता लुकाउन खोजेको आरोप लगाइएको छ। ह्वाइट हाउसले एक विज्ञप्तिमा यो वेबसाइटले कोभिड-१९ को वास्तविक उत्पत्ति दर्शाउने र डेमोक्र्याट र सञ्चारमाध्यमले वैकल्पिक स्वास्थ्य उपचार र ल्याब-लिक थ्योरीलाई कसरी बदनाम गरे भन्ने कुरा पनि उल्लेख गरेको जनाएको छ।
ल्याब-लिक थ्योरी अनुसार कोरोनाभाइरस मध्य चीनको वुहान शहरको एक प्रयोगशालाबाट गल्तीले वा अन्य कुनै कारणले बाहिर आएको हुनसक्छ। वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (WIV) ले एक दशकभन्दा बढी समयदेखि चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ। यो संस्थान हुआनान वेट मार्केटबाट ४० मिनेटको दूरीमा छ, जहाँ पहिलो कोरोनाभाइरस संक्रमणका घटनाहरू सुरु भएका थिए।