२७ बैशाख २०८२ , शनिबार

जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

News
२७ बैशाख, काठमाण्डौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताएका छन्। साथै उनले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा शनिबार आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

“जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन पत्रकारहरूको सक्रियता आवश्यक छ। सत्यतथ्यमा आधारित समाचार सामग्रीहरुको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ”, उनले भने।

जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरूप्रति निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरूलाई सुझाव दिए। सनसनी फैलाउने समाचारले गतल सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरू सचेत हुनुपर्नेमा उनले जोड दिए। उहाँले पत्रकारहरु पेशागत रुपमा निरपेक्ष हुनुपर्नेमा जोड दिए।

“प्रेस स्वन्तन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस स्वतन्त्रता अनिवार्य छ, स्वतन्त्र प्रेस नागरिकहरुलाई सही सूचना प्रदान गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आमनागरिकको आवाज उठाउने एक महत्त्वपूर्ण माध्यम पनि हो”, स्वतन्त्र प्रेसका माधयमबाट लोकतन्त्र सुदृढ हुने बताउँदै उपराष्ट्रपतिले भने।

सामाजिक सञ्जालहरुमा प्रमाणबिना समाचार फैलाउने, गलत जानकारीलाई सत्यका रुपमा प्रस्तुत गरी आमनागरिकमा भ्रम सिर्जना गर्ने, ‘डीपफेक’ प्रविधिद्वारा गलत चित्र र भिडियो उत्पादन गरी सार्वजनिक धारणा प्रभावित भइरहेको चुनौतीपूर्ण अवस्थामा तथ्य जाच्ने प्रणाालीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।