अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर नीतिका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबीच दोस्रो दिन पनि वार्ता सुरु भएको छ। स्विस सञ्चारमाध्यमका अनुसार आइतबार अमेरिकी र चिनियाँ अधिकारीहरूबीच बन्द कोठामा वार्ता जारी छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार बिहान १० बजेपछि दोस्रो दिनको वार्ता सुरु भएको स्विस किस्टोन–एटिएस समाचार एजेन्सीले जनाएको छ।
जेनेभामा शनिबार पहिलो दिनको वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा छलफल 'धेरै राम्रो' भएको भन्दै प्रशंसा गरेका थिए। उनले वार्तालाई 'मैत्रीपूर्ण तर रचनात्मक तरिकाले पूर्ण रूपमा पुनः स्थापित' गरिएको बताएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि स्विट्जरल्याण्डमा भएको वार्तालाई 'मुद्दाको समाधानका लागि महत्वपूर्ण कदम' भनेको छ।
गत महिना ट्रम्पले चीनमाथि नयाँ कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनाव बढेको छ। शनिबारदेखि जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि स्विट्जरल्याण्डका राजदूतको निवासमा बन्द कोठामा सुरु भएको छलफल आइतबार पनि जारी छ। ट्रम्पले यस वर्षको सुरुदेखि नै चीनमाथि लगाएको कर हाल १४५ प्रतिशत रहेको छ भने केही चिनियाँ सामानमा अमेरिकी कर २४५ प्रतिशत पुगेको छ। त्यसको बदलामा चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ।
ट्रम्पले शुक्रबार चिनियाँ आयातमा उच्च कर घटाउन सक्ने सङ्केत दिँदै सामाजिक सञ्जालमार्फत 'चीनमाथि ८० प्रतिशत कर लगाउनु सही देखिन्छ' भनेका थिए। अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले अमेरिकाले एकतर्फी रुपमा कर नघटाउने र चीनले पनि सहुलियत दिनुपर्ने बताएका छन्। 'सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज'का वरिष्ठ सल्लाहकार बिल रेइन्स्चले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध राम्रो नभएको बताएका छन्।
'चाइना युरोप इन्टरनेसनल बिजनेस स्कूल'मा अर्थशास्त्र र वित्तका प्राध्यापक शु बिनले वार्ता दुवै पक्ष कुराकानी गरिरहेका छन् भन्ने देखाउनका लागि भएको र यो आफैंमा धेरै महत्त्वपूर्ण रहेको बताएका छन्।