२६ बैशाख २०८२ , शुक्रबार

तपाईंको थन्किएको ह्विलचियर बन्न सक्छ कसैको सहारा, सहयोगको लागि अभियान सुरु

News
२६ बैशाख, काठमाण्डौँ ।

के तपाईंको घरमा ह्वीलचियर थन्किएर बसेको छ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ। तपाईंले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ।

हाल थन्किएका ह्विलचियर जुटाएर दैनिकी सहज बनाउने उद्देश्यसहित ‘फ्रि ह्विलचियर डोनेट एण्ड रिपियर सोसाइटी नेपाल’ नामक अभियान लागेको छ। अभियानका अवधारणाकर्ता आनन्द राउत घर तथा कार्यालयमा प्रयोगविहीन ह्विलचियर सङ्कलन गरेर आवश्यक पर्दा मर्मतसमेत गरी विपन्नसम्म पु¥याउने अभियानमा लागिरहेका छन्।

विदेश जाने रकम घटाउन र विपन्नलाई सहयोग गर्ने दुई वटा उद्देश्यका साथ अभियान थालिएको भन्दै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे। “यहाँ विदेशबाट ह्विलचियर आयात गरिन्छ। त्यसका लागि बर्सेनि करोडौँ रकम बाहिरिन्छ। त्यसैले यहाँ बिग्रिएर बसेका, कबाडीका रूपमा रहेका ह्विलचियरलाई आवश्यक मर्मत गरी पुनःप्रयोग गर्ने अभियानमा लागेका छौँ। यसले विदेशिने करोडौँ रुपैयाँ बचत हुनुका साथै विपन्नलाई निकै सहयोग पुग्नसक्छ”, राउतले भने।

सन् २०२५ को सुरुआतसँगै सुरु भएको अभियानमार्फत हालसम्म छ जनालाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ। अभियानी राउतले पहिलो ह्विलचियर पाउने व्यक्ति र परिवारको अनुहारमा देखिएको खुसीबाट प्राप्त आत्मसन्तुष्टिले अभियानमा लाग्न प्रेरित गरिरहेको बताए। “हामीले कतै बिग्रिएर बसेका ह्विलचियरलाई खरिद गरेर वा सहयोगमा लिएर आवश्यकताअनुसार मर्मत गरेर वितरण गर्ने गरेका छौँ। मर्मतका लागि नारायणी बहुप्राविधिक शिक्षालयमा रहेको इन्फिनिटी प्रयोगशालासँग समन्वय गरेर काम भइरहेको छ”, उनले भने। (नोट: यहाँ उल्लेखित सन् २०२५ भूलवश भएकोले सच्याइएको छ।)

हाल आर्थिक रूपमा विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर सहयोग गर्ने उद्देश्यले अभियान काम सुरु भए पनि आगामी दिनमा वैशाखी, वाकर र नक्कली खुट्टासमेत वितरण गर्ने योजना रहेको जनाइएको छ।