जिल्ला प्रहरी परिसर काठमाडौंले घातक रसायन क्याड्मियम कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। वैशाख ३ गते साँझ ५ बजे काठमाडौं महानगरपालिका-६, बौद्ध फुलबारीमा सञ्चालित खण्डुगा रिफाइनरीमा क्याड्मियम प्रयोग गरी धातुका गरगहनामा मिसावट गर्ने र अवैध कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।
खानतलासीको क्रममा क्याड्मियम जस्तो देखिने २ किलोग्राम ८३२ ग्राम रसायन बरामद भएको छ। पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-६, बौद्ध फुलबारी बस्ने ३२ वर्षीय सागर भिकु झुरे (सञ्चालक) र सोही ठाउँमा बस्ने २१ वर्षीय धिरज सालुङ्ङ्के रहेका छन्।
उनीहरूलाई घातक रसायनिक पदार्थ (नियमन) ऐन, २०७९ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी, प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।