अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हार्वर्ड विश्वविद्यालयबीचको विवाद थप चर्केको छ। हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनले विश्वविद्यालयलाई दिने संघीय कोष रोकेको र विश्वविद्यालयका गतिविधिमा राजनीतिक हस्तक्षेप गर्न खोजेको भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेको छ।
ट्रम्पले विश्वविद्यालयमा यहुदी विरोधी भावना बढेको आरोप लगाएका छन्। उनले हार्वर्डले भर्ना र कर्मचारी नियुक्ति प्रक्रियामा सरकारी हस्तक्षेप स्वीकार नगरे संघीय कोष रोक्का गर्ने धम्की दिएका थिए। ट्रम्पले विश्वविद्यालयको कर छुट खारेज गर्ने र विदेशी विद्यार्थी भर्नामा समेत रोक लगाउने चेतावनी दिएका थिए।
हार्वर्ड विश्वविद्यालयले म्यासाचुसेट्सको संघीय अदालतमा सरकारको कदम प्रथम संशोधन, संघीय कानून र नियमको उल्लङ्घन भएको दाबी गरेको छ। विश्वविद्यालयले सरकारको कदमलाई मनमानीपूर्ण भनेको छ। विश्वविद्यालयले संघीय कोष रोक्का गर्ने निर्णयलाई गैरकानूनी घोषणा गर्न र सरकारलाई हार्वर्डको क्षतिपूर्ति तिर्न आदेश दिन माग गरेको छ।
ट्रम्पले हार्वर्डलाई संघीय कोषबाट २.२ बिलियन डलर रोक्न आदेश दिएका थिए। उनले हार्वर्डलाई "घृणा र मूर्खता सिकाउने ठाउँ" को संज्ञा दिँदै यसलाई संघीय कोष दिन नहुने बताएका छन्।