२५ जेष्ठ २०८२ , आईतवार

‘मस्कले सोच्ने शक्ति गुमाए’: ट्रम्प

News
२४ जेष्ठ, काठमाण्डौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने सङ्केत दिएका छन्।

विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको विश्लेषण गरिएको छ।

ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई दिएको जानकारीअनुसार ट्रम्पले मस्कसँग थप वार्ता नगर्ने निर्णयमा पुगेका छन्।

ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लब जाने क्रममा पत्रकारहरूसँग भने, “इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त छु। म एलन मस्कको बारेमा सोचिरहेको छैन। म उहाँको राम्रो कामको लागि कामना गर्दछु।”

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारणकर्ताहरूसँग भनेका थिए, “अब म आफ्नो ‘ठूलो र उत्कृष्ट’ बिललाई कङ्ग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्छु। यसबारे मस्कको कठोर आलोचनाले विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको टकरावलाई बढावा दिएको थियो।”

रिपब्लिकन नेतासमेत रहेका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्व सहयोगीलाई लक्षित गरी थप टिप्पणी नगर्ने सङ्केत गरेका छन्।

मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, “तपाईंको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’? म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन।” ट्रम्पले पछि फक्स न्यूजसँग भने, “मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ।”

उहाँहरूबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ मा चार महिना काम गरेपछि मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गरेका थिए।

व्यापार तनावका समाचारहरू आइरहेका बेला उहाँहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ।

मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस) बाट एक टिप्पणीमार्फत् जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए।

ट्रम्पको खर्च विधेयकले कङ्ग्रेसमा कठिन चुनौतीको सामना गरिरहेको छ। आलोचकहरूले यस विधेयकले अमेरिकी घाटा बढाउने र लाखौं गरिब अमेरिकीहरूको स्वास्थ्य सेवामा कटौती गर्ने दाबी गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेस एक्सका प्रमुखको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने चेतावनी दिएका छन्।

मस्कको सम्झौता कटौती गर्नेबारे कत्तिको गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ भनी सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार राति यसबारे भन्नुभयो, “यो धेरै पैसा हो, यो धेरै अनुदान हो, त्यसैले हामीले एक नजर लगाउनेछौँ र यो देशको लागि उचित हुन्छ भने मात्र अघि बढाइनेछ।”

यद्यपि, सामाजिक सञ्जालमा बढ्दो शत्रुतालाई कम गर्ने प्रयास गर्दै मस्कले नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पु¥याउनका लागि आवश्यक पर्ने आफ्नो कम्पनीको ड्रागन अन्तरिक्ष यानलाई रद्द गर्ने यसअघिको चेतावनी फिर्ता लिएका छन्।