यातायात व्यवसायीले सरकारसँग सहमति गरे पनि आन्दोलन नरोक्दा आज पनि यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन्।
गए राति सरकारसँग ६ बुँदे सहमति भए पनि व्यवसायीले गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली नहटाएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको बताए। चालकहरूको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको उनले जानकारी दिए।
सहमतिमा यातायातसम्बन्धी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार सुझाव सिफारिस कार्यदल गठन गर्ने, ऐन, कानुन, नियम र निर्देशिकाहरूमा यातायात व्यवसायी तथा यातायात मजदुरहरुका मागलाई सम्बोधन गर्ने, स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमतासम्बन्धी नियम कानुन कार्यान्वयन, विदेशी सवारी साधनलाई भन्सार नाकामै पाइराखेको ७२ घन्टे सुविधा सम्बन्धमा सुझाव पेस गर्ने, सार्वजनिक सवारी साधनको आयु सम्बन्धमा सर्वोच्चको परमादेशको यथाशीघ्र कार्यान्वयनलगायतका विषय रहेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारको निर्णयको प्रतिक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताए।
सरकारी वार्ता टोलीका संयोजक कृष्णराज पन्थले आज अपराह्नसम्ममा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।