काठमाडौंमा मोबाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ टंकेश्वरबाट कुटपिट गरी एक व्यक्तिको साथमा रहेको One Plus Mobile लुटपाट गरी भागेको भन्ने सूचना प्राप्त हुनसाथ खटिएको प्रहरी टोलीले उक्त लुटपाटमा संलग्न तीन जनालाई भाग्दै गरेको अवस्थामा काठमाडौंको टंकेश्वरबाट चोरीको मोबाइलसहित नियन्त्रणमा लिएको हो । घटना मिति २०८२ साल जेठ ११ गते राति ८ः३० बजे भएको थियो ।
पक्राउ पर्नेहरूमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ कालिमाटी बस्ने वर्ष २४ को च्वाँचे भन्ने सुरज थापा मगर, सोही ठाउँ बस्ने वर्ष २४ को सन्तोष तामाङ र जिल्ला धादिङ, धुनिवेशी नगरपालिका ३ घर भइ सोही ठाउँ बस्ने वर्ष १९ को प्रविन भण्डारी रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरु अन्य लुटपाट तथा चोरीका घटनामा पनि संलग्न रहेको खुलेको छ । उनीहरुको संलग्नता रहेका अन्य घटनाहरु निम्न छन्:
१. मिति २०८१/११/२९ गते टंकेश्वर नजिक रहेको विजय फार्मेसीबाट iPhone 14 चोरी गरेको
२. मिति २०८१।१२।२० गते का.म.न.पा १३ टंकेश्वर स्थित सार्वजानिक सडक खण्डमा का.म.न.पा २० वसन्तपुर बस्ने हिमाल सापकोटालाई कुटपिट गरी घाईते बनाएको
३. मिति २०८२।०१।११ गते का.म.न.पा १३ सोल्टिमोड स्थित रहेको शिव बुक स्टेस्नरीबाट Redmi Mobile थान १ चोरी गरेको
४. मिति २०८२।०१।३१ गते का.म.न.पा. २१ भोटेबहाल आजाद गल्लिमा एक होटलमा बस्ने मानिसको करिब आधा तोला सुन, One Plus Mobile १ थान र विभिन्न ईलेक्ट्रिक सामानहरु चोरी गरेको
५. मिति २०८२।०२।०५ गते का.म.न.पा.१३ बाफल स्थित गाईबाच्छा चोक नजिकबाट एक मानिसलाई कुटपिट गरी Redmi Mobile थान १ चोरी गरेको
६. मिति २०८२।०२।०६ गते का.म.न.पा.१३ टंकेश्वर स्थित लखनउ बिरियानि होटल सञ्चालकलाई कुटपिट गरि रु. ५,०००।- (पाँच हजार) लुटपाट गरेको
७. मिति २०८२।०२।०७ गते का.म.न.पा. १३ टंकेश्वर स्थित सडक खण्डमा तरकारी पसलमा काम गर्ने मानिसलाई कुटपिट गरी Redmi Note 10 मोबाइल थान १ लुटपाट गरेको
पक्राउमा परेका च्वाँचे भन्ने सुरज थापा मगरले मिति २०८० सालमा अभद्र व्यवहार मुद्दामा र प्रविन भण्डारीले मिति २०८१ सालमा चोरी मुद्दामा सजाय पाएको समेत अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ ।