वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा शिक्षकहरूको आन्दोलनका कारण अन्योलमा परेको छ। परीक्षा सञ्चालन तथा व्यवस्थापनको मुख्य जिम्मेवारीमा रहने शिक्षकहरूले नै आफ्ना मागहरू सम्बोधन नभएको भन्दै परीक्षामा सहभागी नहुने घोषणा गरेपछि परीक्षा प्रभावित हुने चिन्ता बढेको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकहरूको आन्दोलन नरोकिए परीक्षा प्रभावित हुने बताएका छन्। "परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक हो। आन्दोलन जारी रहे पक्कै पनि परीक्षा प्रभावित हुन्छ," उनले भने, "तर, हामी सरकार र शिक्षकबीचको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा आशावादी छौं।"
बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरिसकेको अध्यक्ष शर्माले जानकारी दिए। उनले कक्षा १२ को परीक्षा विद्यार्थीको उच्च शिक्षा प्रवेशका लागि महत्वपूर्ण भएको र यसको अन्तर्राष्ट्रिय पक्ष पनि जोडिएकोले कुनै पनि हालतमा परीक्षा रोकिनु नहुनेमा जोड दिए। "विद्यार्थीको भविष्य हामी सबैको भविष्य हो। एक दिन मात्र परीक्षामा अवरोध हुँदा पनि ठूलो असर पर्छ," उनले भने, "बोर्डले सबै पक्षलाई अनुरोध गरेको छ। सरकार र शिक्षकबीचको वार्ता चाँडो टुंगिनुपर्छ।"
यद्यपि, अध्यक्ष शर्माले शिक्षकहरूले आफ्नै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्नेमा विश्वास व्यक्त गरे। "आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्नुहुन्छ भन्ने मलाई विश्वास छैन," उनले भने।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार यस वर्ष करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। उनले परीक्षाको तालिका एक वर्षअघि नै निर्धारण भइसकेको र सोहीअनुसार तयारी गरिएकाले परीक्षा नरोकिनेमा विश्वास व्यक्त गरे। "हामीले क्यालेन्डर बनाएर काम गरेका छौं। परीक्षा प्रभावित हुँदैन भन्नेमा विश्वस्त छौं," अर्यालले भने।