१ जेष्ठ २०८२ , बुधबार

बङ्गलादेशमा आँधी र चट्याङले १४ को मृत्यु

News
३० बैशाख, ढाका।

आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए। ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ।

ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ।

ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन्। बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो।

यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो। विगत केही वर्षयता बङ्गलादेशमा चट्याङ लागेर हुने मृत्युको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बङ्गलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ।