सरोकारवालाहरूले दिगो विद्युत् उत्पादनका लागि स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन्। सगरमाथा संवादको दोस्रो दिन 'भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग' विषयमा बोल्दै उनीहरूले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवर्द्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमा समेत असर पुग्ने बताए। "जाडो याममा पानीको स्रोत घट्दा नेपालले भारतबाट विद्युत् आयात गरेर आपूर्ति गराउनुपरेको छ," उनले भने, "अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ।" शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्न भरपर्दो ऊर्जा आवश्यक रहेको बताउँदै नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको बताए।
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युतप्रसाद वाग्लेले हरित ऊर्जा उत्पादन र प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्र र सरकारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। "अहिले हामी न्यूनतम ऊर्जा आवश्यकतालाई पूरा गर्न चाहन्छौँ, तर लगानी कहाँबाट जुट्छ?," उनले भने, "लगानीका नयाँ स्रोत पहिचान गर्नु अत्यावश्यक छ।"
जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण प्रभाव कार्य प्लेटफर्म केन्याका निर्देशक डा. अदिति मुखर्जीले उच्चस्तरीय क्षमता विकास, प्रविधि हस्तान्तरण र समुदायलाई ऊर्जा रूपान्तरणको केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि सार्वजनिक कोष स्थापनामा जोड दिए।
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शोभाकर ढकालले स्वच्छ ऊर्जाको सदुपयोग भनेको नवीकरणीय ऊर्जा स्रोतको उपयोग गरी समाजलाई ऊर्जा प्रदान गर्ने, जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र दिगो विकास हासिल गर्ने लक्ष्य राखेको बताए।