दक्षिण कोरियाको चेओङ्जुमा एक विद्यार्थीले छुरा प्रहार गर्दा एक शिक्षकसहित कम्तीमा ६ जना घाइते भएका छन्। रोयटर्सले योन्हाप समाचार एजेन्सीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार एक विशेष विद्यालयका विद्यार्थीले सोमबार बिहान ८:४० बजेतिर छुरा प्रहार गरेका हुन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको अनुहार, पेट लगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते सबैलाई अस्पताल भर्ना गरिएको र उपचार भइरहेको छ।
आक्रमणपछि विद्यार्थीले नजिकैको जलाशयमा हाम फालेको तर अधिकारीहरूले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको योन्हापले जनाएको छ। छुरा प्रहारको कारण भने खुल्न सकेको छैन। प्रहरी र शिक्षा अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।