धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आएका छन्।
बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गरेका हुन्। “विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ,” उनले भने।
रुद्राक्षका सामग्री बनाउन उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गरेका छन्। मासिक रु २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको उनले बताए। सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ।
व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौँ, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन्। ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उहाँले रु २० देखि रु ५० सम्ममा माला, ढाकी रु ३०० देखि रु ५०० र रु एक हजार ५०० देखि रु तीन हजारसम्ममा झोला, साथै रु पाँच हजारदेखि रु पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको जानकारी दिए।
रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उनी धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्ने गरेका छन्। एक बोटको मूल्य रु एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने जानकारी दिँदै उनले भने, “बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन, अर्डर राम्रै आउने गर्छ सामान बनाउनसके बिक्री पनि राम्रो हुन्छ।”