२५ बैशाख २०८२ , बिहीबार

रूसले घोषणा गरेको युक्रेनसँगको तीन दिने युद्धविराम बिहीबारदेखि लागु

News
२५ बैशाख, काठमाण्डौँ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तीन दिने एकपक्षीय युद्धविरामको आदेश दिएका छन्, जुन बिहीबारदेखि लागू भएको क्रेमलिनले जनाएको छ। रूसले यो युद्धविरामलाई शान्तिका लागि किएभको तत्परताको परीक्षणका रूपमा लिएको बताएको छ।

यो घोषणा यस्तो समयमा आएको हो जब चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुसिक लगायत विश्व नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मस्कोमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन्।

युक्रेनी सेनाले बिहीबार बिहान पूर्वी सुमी क्षेत्रमा रुसी हवाई आक्रमण भएको बताए पनि रातभरि भने स्थिति अपेक्षाकृत शान्त रहेको जनाएको छ। किएभले कुनै क्षति वा हताहतिको विवरण दिएको छैन। रुसी नेता पुटिनले जर्मनीको नाजी सेनामाथि मस्कोको विजय दिवस परेडको अवसरमा यो एकतर्फी अस्थायी युद्धविरामको आदेश दिएका हुन्।

तर, युक्रेनले यो युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ। उसले यसलाई 'नाटक' को संज्ञा दिँदै ३० दिने युद्धविरामको माग गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास असफल भइरहेको सन्दर्भमा यो एकतर्फी युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा व्याख्या गरिएको छ।

पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि दुवै पक्षबाट हवाई आक्रमण भएका थिए। यस क्रममा रुसको एक विमानस्थलमा सेवा अवरुद्ध भएको थियो भने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थल ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ भन्दै बिहीबार बिहान करिब डेढ घण्टा बन्द गरिएको सङ्घीय हवाई यातायात निकायका प्रवक्ताले बताए।

क्रेमलिनले रुसी सेनाले पुटिनको आदेश पालना गर्ने तर आक्रमण भएमा तत्काल जवाफ फर्काउने बताएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझको सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका थिए। उनले भने, “कूटनीतिलाई मौका दिन सक्ने यो प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया पाइरहेको छैन।”