तीनकुने आन्दोलनपछि पक्राउ परेका राप्रपा महामन्त्री धवलशम्शेर राणालाई स्वास्थ्योपचारका निम्ति हिरासतमुक्त गरिने भएको छ। गृह मन्त्रालयस्तरीय निर्णयबाट उनलाई छोड्न लागिएको स्रोतले जनाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य परीक्षण र उपचारजस्तो गम्भीर विषय उठेका कारण सरकारले उनलाई सहज ढंगले मुद्दाको पुर्पक्ष गर्ने मौका दिन लागिएको हो। उनलाई हिरासतबाट बाहिर राख्नका लागि पूरा गर्नुपर्ने प्रक्रिया भने बाँकी छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अहिलेसम्म गृहको कुनै निर्देशन नपाएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले बताएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय पनि यसबारे जानकार छैन। प्रहरी हिरासतमा राखिएका व्यक्तिलाई हिरासतबाट बाहिर राख्ने विषयमा यी दुई निकायबाट प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
राणा प्रहरीद्वारा फौजदारी अभियोगमा पक्राउ परेका र म्याद थप गरी अनुसन्धान चलिरहेको अवस्थाका थुनुवा हुन्। उनलाई बाहिर राख्नुपर्ने अवस्था आएमा अनुसन्धान अधिकृतले सरकारी वकिलको राय लिएर छोड्न सक्छन्। त्यसका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयसँग राय माग गर्नुपर्छ। त्यसपछि हाजिर जमानीमा छाड्न सकिने जिल्ला सरकारी वकिलको कार्यालयका एक अधिकृतले बताए।
‘मुद्दा चल्ने, नचल्ने निर्णय अहिले हुँदैन’, ती अधिकृतले भने, ‘खोजेको बखत उपस्थित हुने गरी कोही मानिसको जिम्मामा छाड्न सकिने अवस्था हुन्छ।’
चैत १५ मा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको राजावादी प्रदर्शनलाई उत्तेजक तथा हिंसात्मक बनाउने काममा प्रेरक भूमिका खेलेको भन्दै प्रहरीले राणासहितका व्यक्तिलाई सोही राति पक्राउ गरेको थियो। उनलाई राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा चलाइएको छ।
राप्रपा महामन्त्री राणा क्यान्सर सर्भाइभर हुन्। केही महिनाअघि गिजाको क्यान्सर भएपछि उनले मुम्बइमा गएर उपचार गरेका थिए। उनले उपचारको फलोअपका लागि जान ढिलाइभएको परिवारजनले बताइरहेका छन्।