क्याथोलिक चर्चले नयाँ पोप पाएको छ। रोबर्ट प्रेभोस्ट सेन्ट पिटरको गद्दीमा बस्ने २६७ औँ सर्वोच्च पादरी बनेका छन्। अब उनी लिओ चौधौं नामले चिनिनेछन्। उनी पोपको भूमिका निर्वाह गर्ने पहिलो अमेरिकी बनेका छन्। यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ। विशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेको बताइएको छ।
स्वर्गीय पोप फ्रान्सिसको उत्तराधिकारीका रूपमा चुनिएपछि लिओले सेन्ट पिटर्स बासिलिकाको बार्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेको दृश्य देखियो।
पोप चुनिएपछि पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, “समग्र पृथ्वीमा जहाँसुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।” उनले सबैलाई वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न र शान्ति र एकता कायम गर्न मद्दत मिलोस् भन्ने कामना गरेको सुनियो।
लिओको सम्बोधनमा दर्शकदीर्घाबाट तालीको गडगडाहटसहितको न्यानो स्वागत पाएको देखियो। पेरूमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरेको भावुक दृश्य देखिन्थ्यो। “उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ,” लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई सङ्केत गर्दै भनेको सुनिन्थ्यो।
उनले एक आत्मादेखि अर्को आत्मासम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्ववादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्ने बताएको पनि सुनियो।
प्रिभोस्टको निर्वाचनलाई पेरूमा हर्षोल्लासका साथ स्वागत गरिएको देखियो। अमेरिकाको शिकागोमा सन् १९५५ मा जन्मेका उनी पेरूको उत्तरी शहर शिक्लायोमा विशपका रूपमा सेवा गरेकोले उनलाई पेरूको नागरिकका रूपमा पनि सम्मान प्राप्त भएको बताइएको छ।
न्युयोर्कको सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भन्दै थिइन्, “म हिँडिरहेको केही मिनेटमै आफूले उत्साह महसुस गर्न सकेकी छु। उनले लियो चौधौंलाई विश्वले एक सुधारकका रूपमा पाउनेछ।”
विश्वका नेताहरूले २६७ औं पोपलाई स्वागत गर्दै भूराजनीतिक अनिश्चितताको समयमा विश्वव्यापी मुद्दाहरूमा चर्चसँग मिलेर काम गर्ने वाचा गरेको पनि देखियो।
नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ। साथै उनले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुव्र्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्ने चुनौती छ।
कार्डिनल प्रिभोस्टको रूपमा नयाँ पोपले गरिब र विपन्नहरूको बचाउ गरेको देखियो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिहरूको आलोचना गर्ने लेखहरू अनलाइनमा पुनः पोस्ट गरेको पनि भेटियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गरेको पनि देखियो।
’हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,” ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेखेको पाइयो । “ पहिलो अमेरिकी पोप बनेको महसुस गर्न पाउनु गर्वको कुरा हो। यो हाम्रो देशको लागि निकैे ठूलो सम्मान र उत्साह भएको छ।”
लियो चौधौं को निर्वाचन गर्न कति मत खसेको थियो भन्ने सार्वजनिक रूपमा जानकारी गराइने प्रचलन नभएको बताइएको छ, तर सम्मेलनले पछिल्ला इतिहासलाई पछ्याउँदै दुई दिन भन्दा कम समयमा निर्वाचन प्रक्रिया समाप्त गरेको बताइन्छ। निर्वाचनको विवरण सधैंका लागि गोप्य रहने भए तापनि नयाँ पोपले निर्वाचित हुनका लागि कम्तीमा दुई तिहाइ मत प्राप्त गर्नुपर्ने थियो।