२ असार २०८२ , सोमबार

रामेछाप अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट बेपत्ता, 'सुसाइड नोट' सार्वजनिक

News
२ असार, काठमाण्डौँ ।

रामेछाप अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठ सामाजिक सञ्जालमा एक लामो, मार्मिक पोस्ट लेखेर सम्पर्कविहीन भएका छन्। ‘सुसाइड नोट’ जस्तो देखिने उक्त पोस्टमा उनले आफूलाई राजनीतिक र प्रशासनिक शक्तिको दुरुपयोग गरी अन्यायपूर्ण ढंगले सरुवा गरिएको, दुर्व्यवहार गरिएको र अन्ततः आत्महत्या गर्न बाध्य पारिएको उल्लेख गर्दै फोन स्विच अफ गरेका छन्। उनको यो पोस्ट सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्र र सामाजिक सञ्जालमा तरंग पैदा भएको छ।

डा. श्रेष्ठले आफ्नो फेसबुक पोस्टमा आफूले कठिन संघर्ष गरेर डाक्टर बनेको र बागमती प्रदेशको लोकसेवा पास गरी २५ महिनादेखि सेवा गर्दै आएको बताएका छन्। यस अवधिमा १८ महिनासम्म उनले अस्पतालको निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका थिए। आफ्नो कार्यकालमा अस्पतालमा सुधार ल्याउन, प्रणाली बसाल्न र कामचोर तथा ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खोज्दा आफूविरुद्ध षड्यन्त्र सुरु भएको उनको आरोप छ। उनले लेखेका छन्, "म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो।"

आफ्नो पोस्टमा उनले रामेछापका एक स्थानीय व्यक्ति केदार कार्कीमाथि गम्भीर आरोप लगाएका छन्। कार्कीले मागेको पैसा नदिएको र उनले भनेको मान्छेलाई जागिरमा नलगाइदिएकै कारण आफूलाई तारो बनाइएको डा. श्रेष्ठको दाबी छ। कार्कीले आफूले स्पष्टीकरण सोधेका डाक्टरहरूलाई नै प्रयोग गरी झूटा आरोप लगाउन लगाएको र सरुवा गराएको उनले उल्लेख गरेका छन्। एक डाक्टरलाई 'एप्रोन किन नलगाएको' भनेर सोध्दा उल्टै आफूमाथि जाइलागेको र सोही दिन केदार कार्कीले आफ्नो कार्यकक्षमै आएर अस्पतालका अध्यक्षको अगाडि "३ दिनमा तेरो सरुवा गरिनँ भने मेरो नाम पनि केदार होइन" भनी धम्क्याएको घटना पनि उनले सार्वजनिक गरेका छन्।

डा. श्रेष्ठले आफूलाई सुनियोजित रूपमा हटाइएको दाबी गरेका छन्। उनका अनुसार, छानबिन समिति दिउँसो ३ बजे अस्पताल आउने जानकारी दिइयो र त्यसको एक घण्टापछि ४ बजे उनको सरुवाको पत्र थमाइयो। उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको थियो। शरीरमा १६ वटा टाँका र दुई वर्षकी छोरीसहित परिवारलाई लिएर रातारात काठमाडौँ आउन बाध्य पारिएको पीडा उनले व्यक्त गरेका छन्। हेटौँडा पुगेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले आफूमाथि अमानवीय व्यवहार गरेको र गाडी खोसेर अलपत्र पारेको आरोप पनि उनले लगाएका छन्।

आफ्नो पोस्टको अन्त्यमा उनले आमा, श्रीमती र छोरीसँग माफी माग्दै आफूलाई हिम्मत हार्न बाध्य पारिएको उल्लेख गरेका छन्। उनले आफूले दुर्गममा बसेर अस्पताललाई उत्कृष्ट बनाएको (बागमती प्रदेशको दोस्रो उत्कृष्ट) तर पुरस्कारको सट्टा कारबाही भोग्नुपरेकोमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, "मेरो लासमाथि राजनीति नहोस् तर यी अपराधीहरूलाई कानूनको कठघरामा लिएर आउन सबैलाई अनुरोध गर्दछु।"

डा. श्रेष्ठले उक्त पोस्ट सार्वजनिक गरेपछि आफ्नो मोबाइल फोन स्विच अफ गरेका छन्। उनको अवस्था अज्ञात रहेको र परिवार तथा सहकर्मीहरूले उनको खोजी गरिरहेका छन्। सामाजिक सञ्जालमा उनको पोस्ट भाइरल भएसँगै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र डा. श्रेष्ठको सकुशल खोजीका लागि व्यापक माग उठेको छ।