बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत जनकपुरबाट सफाइ पाएका रामबहादुर बम्जन एक महिनाअघि नै कारागारमुक्त भएका छन् । उच्च अदालतले ६ चैतमा सफाइ दिएपछि उनी ७ चैतको बिहानै सिन्धुपाल्चोक कारागारबाट छुटेका हुन् ।
जिल्ला अदालत सर्लाहीले यसअघि बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो, जसलाई उच्च अदालतले उल्टाइदिएको हो । बम्जनसँगै बाल यौन दुराचारको आरोप लागेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन् ।
यसअघि बम्जनविरुद्ध सिन्धुपाल्चोकमा व्यक्ति बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो, जसमा पनि उनले सफाइ पाइसकेका छन् । बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत वर्ष पुस २४ गते बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।