म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँमा स्थानीय बासिन्दाहरूले आफ्नो मौलिक संस्कृति ‘राधाकृष्ण नाच’को संरक्षणमा सक्रियता देखाएका छन्। हिमालको काख र समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै यो नाच देखाउने परम्परा रहेको छ।
भजनकिर्तनसहित अभिनय र नृत्य प्रस्तुत गरिने राधाकृष्ण नाचको संरक्षणका लागि स्थानीयहरूले ताकम धार्मिक नाट्य समूह गठन गरेका छन्। समूहले लोप हुन लागेको नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्य गरिरहेको स्थानीय कलाकार ऋषिराम सुवेदीले बताउनुभयो। "यो नाच यस क्षेत्रको करिब २०० वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ। हरेक वर्षको हरितालिका तीजमा ताकम गाउँमा उत्सवका रूपमा राधाकृष्ण नाच देखाउने चलन छ। अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ," उनले बताए।
राधाकृष्ण नाचका लागि समूहले भजनकिर्तनको शैलीमा गीतको रचनासमेत गरेको छ। यस नाचमा हिन्दू धर्मका भगवान शिव, पार्वती र राधाकृष्णको मायाप्रेमका साथै भगवान गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य र अभिनयमार्फत प्रस्तुत गरिन्छ। परापूर्वकालमा देवीदेवता र भगवानको माया, प्रेम र जीवन दर्शनलाई भजनकिर्तनका भाकाबाट व्यक्त गरी अभिनयसहितको नृत्य प्रस्तुत गर्दा यो आकर्षक र मनोरञ्जनात्मक हुने गर्छ।
पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तालाई समेत सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ। हालै गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइमा परेको थियो।
गाउँपालिकाले पुख्र्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरणसँगै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने समूहका सचिव सुवेदीले बताउनुभयो। राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन्। पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले नै निभाउँछन्। ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यो नाचको कला र सीप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन्।
अहिले ताकम गाउँमा मात्र नभएर सो गाउँपालिका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, समारोह, उत्सव, मेला र महोत्सवमा समेत यो नाच प्रदर्शन हुन थालेको छ। धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवर्द्धनको माध्यम बन्ने अपेक्षा गरिएको छ।