२२ जेष्ठ २०८३ , शुक्रबार

मैले रवी लामिछानेलाई उजुरी दिएकै छैन : पूजा न्यौपाने

News
१ जेष्ठ, बुटवल ।

सुप्रीम सहकारीमा बचत गरेकी पूजा न्यौपानेले आफूले कसैलाई पनि किटानी जाहेरी नदिएको तर रवि लामिछाने सहितको नाममा उजुरी दिएको भन्दै आफ्नो नाम उजुरीकर्ताको पहिलो नम्बरमा राखिएकोमा आक्रोश व्यक्त गरेकी छिन्।

फेसबुकमा स्टाटस लेख्दै उनले आफू सहकारी पीडित भएको र बचत फिर्ता पाउन निवेदन मात्र दिएको बताइन्। "मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरै थोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिएँ। जब सहकारी डुब्यो भन्ने थाहा पाएँ, त्यसपछि धेरैपटक पैसा पाइन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसेँ," न्यौपानेले लेखेकी छिन्, "पछि ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसेकाहरुले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो। मैले कुनै ब्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन।"

उनले आफूले उजुरी नै नदिएको व्यक्तिलाई उजुरीकर्ता बनाइँदा प्रहरीले जानकारीसमेत नदिएको गुनासो गरिन्। "मैले उजुरी दिएकै हैन, मैले त पैसा फिर्ता पाउँ भनी निवेदन मात्रै दिएकी हुँ," उनले भनिन्। न्यौपानेले आफूहरुले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने माग गर्दै कसैलाई राजनीतिक प्रतिशोध साँध्न सोझा जनतालाई प्रयोग नगरियोस् भन्ने आग्रह गरेकी छिन्। "#हाम्रो_बचत_फिर्ता_गर" ह्यासट्याग प्रयोग गर्दै उनले आफ्नो फेसबुक स्टाटसमा सहकारी पीडितहरुको आवाजलाई बुलन्द पारेकी छिन्।