२९ बैशाख २०८२ , सोमबार

सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ आज, संसद्मा पेश हुने

News
२८ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने कार्यसूची तय भएको छ।

आज नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो।

सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची रहेको छ। राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ।