हालैको भारत र पाकिस्तानबीचको तनावमा पाकिस्तानी लडाकु विमानले भारतीय विमानलाई खसालेको दाबी गरिएको छ।
अमेरिकी अधिकारीहरूले रोयटर्सलाई दिएको जानकारी अनुसार, पाकिस्तानले चीनमा निर्मित जे-१० लडाकु विमान प्रयोग गरेर भारतीय विमानलाई खसालेको हो।
यस विषयमा भारतीय वायुसेनाका प्रवक्ताले कुनै टिप्पणी दिन अस्वीकार गरेका छन्। यद्यपि, घटनाको विस्तृत विवरण आउन बाँकी छ। चीन निर्मित लडाकु विमानको प्रयोग र त्यसको क्षमतालाई लिएर वाशिंगटनमा यस घटनालाई गम्भीरतापूर्वक हेरिएको छ।
नाम नबताउने शर्तमा एक अमेरिकी अधिकारीले पाकिस्तानले चीनमा निर्मित जे-१० विमानबाट हावामा प्रहार गर्ने मिसाइल प्रयोग गरी कम्तीमा दुई भारतीय लडाकु विमान खसालेको उच्च आत्मविश्वासका साथ बताएका छन्। अर्का अधिकारीले खसालिएका विमानमध्ये एउटा फ्रान्समा निर्मित राफेल लडाकु विमान भएको जानकारी दिए। दुवै अधिकारीले पाकिस्तानले लकहिड मार्टिनद्वारा निर्मित एफ-१६ विमान भने प्रयोग नगरेको बताएका छन्।
यता, दिल्लीले भने कुनै पनि विमान गुमाएको स्वीकार गरेको छैन। बरु, पाकिस्तानभित्र रहेको "आतंकवादी" पूर्वाधारमा सफलतापूर्वक हमला गरेको दाबी गरेको छ। अमेरिका, रुस र चीन लगायत विश्वका शक्ति राष्ट्रहरूले यस क्षेत्रमा शान्ति कायम गर्न आग्रह गरेका छन्।
यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले बिहीबार रोयटर्सलाई दिएको जानकारी अनुसार, जे-१० विमानले भारतले भर्खरै खरिद गरेका तीन फ्रान्सेली राफेल विमानलाई खसालेको दाबी गरेका छन्। पाकिस्तानले हवाई लडाइँमा पाँच भारतीय विमान खसालेको दाबी गरेको छ।
विश्लेषकहरूका अनुसार, राफेल र पाकिस्तानले प्रयोग गरेको जे-१० दुवै ४.५ पुस्ताका लडाकु विमान हुन्, जसले तिनीहरूलाई लडाकु विमानको अग्रपंक्तिमा राख्छ। भविष्यमा हुनसक्ने ठूला शक्तिहरूको द्वन्द्वमा प्रयोग हुनसक्ने उन्नत हतियारको प्रयोगलाई सूक्ष्म रूपमा जाँचिनेछ।
आणविक हतियारले सुसज्जित भारत र पाकिस्तानले तीनवटा ठूला युद्ध लडेका छन्, साथै धेरै साना द्वन्द्वहरू पनि भएका छन्।