२४ बैशाख २०८२ , बुधबार

गाजामा युद्ध सुरु भएयता १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

News
२४ बैशाख, काठमाण्डौँ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्। उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार दुई सय ७८ बालबालिका रहेको र तीमध्ये नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुहरू जन्मिएपछि मरेको बताए।

उनले इजरायलले मार्चको सुरुमा सीमा नाकाहरू बन्द गरेपछि आवश्यक स्वास्थ्य सेवामा बाधा पुग्दा मानवीय अवस्था निकै बिग्रिएको बताए। यसले हजारौँ बालबालिका र गर्भवती महिलाहरूलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दै सङ्कटलाई थप गहिरो बनाएको उनको भनाइ छ।

इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहायता सामग्री प्रवेशमा रोक लगाएका कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित पहुँचका साथ दिनको एउटा मात्र अपूर्ण खानामा बाँचिरहेको उनले बताए।

उनका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताहरू बिना विस्थापन केन्द्रहरूमा बसिरहेका छन् भने गर्भवती महिलाहरूले अस्पताल पुग्न निकै कठिनाइ भोग्नुपरेको छ।

हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ देखि गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो। दुवै पक्षबीच जारी गतिरोधका कारण युद्धविरामको दोस्रो चरण अझै कार्यान्वयन हुन सकेको छैन।