२५ बैशाख २०८२ , बिहीबार

अपरेसन सिन्दुर: कम्तीमा १०० आतंकवादी मारिएको भारतीय रक्षामन्त्रीको दाबी

News
२५ बैशाख, काठमाण्डौँ ।

जम्मू-कश्मीरको पहलगाममा भएको कायरतापूर्ण आतंकवादी हमलाको कडा जवाफ दिँदै भारतीय सशस्त्र बलले 'अपरेसन सिन्दुर' अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित जम्मू-कश्मीर (पीओकेजे) मा रहेका ९ स्थानमा आतंकवादी शिविरहरू ध्वस्त पारेको छ । यस कारबाहीमा कम्तीमा १०० आतंकवादी मारिएको रक्षामन्त्री राजनाथ सिंहले बिहीबार आयोजित सर्वदलीय बैठकमा जानकारी दिएको टाइम्स नाउले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

यस अन्तर्गत जैश-ए-मोहम्मदका ४, लश्कर-ए-तैयबाका ३ र हिजबुल मुजाहिदीनका २ गरी कुल ९ आतंकवादी शिविर नष्ट गरिएका थिए । केन्द्र सरकारले बिहीबार दिल्लीमा सर्वदलीय बैठक आयोजना गरी सबै दललाई यसबारे जानकारी गराएको हो । बैठकमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त हमलामा कम्तीमा १०० आतंकवादी मारिएको जानकारी दिए ।

अपरेसन सिन्दुर अन्तर्गत भारतीय सेनाले लश्कर-ए-तैयबा (एलईटी) को मुरिदकेस्थित मरकज तैयबा, जैश-ए-मोहम्मद (जेईएम) को बहावलपुरस्थित मरकज सुभान अल्लाह, हिजबुल मुजाहिदीनको सियालकोटस्थित मेहमुना जोया फ्यासिलिटी, एलईटीको बर्नालास्थित मरकज अहले हदीस र मुजफ्फराबादको शवाई नल्लास्थित शिविरलाई निशाना बनाएको थियो । विदेश सचिव विक्रम मिश्री, कर्णेल सोफिया कुरेशी र विङ कमान्डर व्योमिका सिंहले बुधबार पत्रकारहरूलाई यसबारे जानकारी दिएका हुन् ।

विङ कमान्डर सिंहले अपरेसनका क्रममा "कुनै पनि सैन्य प्रतिष्ठानलाई निशाना नबनाइएको" कुरामा जोड दिए ।