१ जेष्ठ २०८२ , बुधबार

काठमाडौंको तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

News
२९ बैशाख, काठमाण्डौँ ।

काठमाडौं प्रहरीले तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत रहेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार, बस्नेतलाई मोरङको विराटनगर महानगरपालिकाबाट पक्राउ गरिएको हो। ४७ वर्षीय बस्नेतलाई काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत चैत्र १५ गते काठमाडौं महानगरपालिका ३२ तीनकुने स्थित खुल्ला चौरमा "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल" नामक संस्थाले आयोजना गरेको प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्र.उ. अपील राज बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।