२३ जेष्ठ २०८२ , शुक्रबार

सौराहाबाट भाले गैंडा चिडियाखाना पठाइयो

News
२२ जेष्ठ, काठमाण्डौँ ।

चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ ।

वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैंडालाई चिडियाखाना पठाइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयानुसार अर्को पोथी गैंडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, “करिब ३० महिनाको पोथी गैंडा (पुजा)लाई पनि लैजाने तयारी गरीएको छ ।”

बुधबार नै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए । सदर चिडियाखानामा गैंडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैंडाका बच्चा लगिएको हो । हुर्काइएका गैंडा लैजाँदा मानविय क्षति कम हुने भएकाले यस्ता गैंडा लगिने गरेको छ ।