१६ कार्तिक २०८३ , आईतवार

कैलालीमा ज्यान मार्ने उद्योगका अभियुक्त भाग्न खोजेपछि प्रहरीको गोली

News
२९ जेष्ठ, काठमाण्डौँ ।

ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई अभियुक्त भाग्न खोजेपछि नियन्त्रणमा लिन कैलाली प्रहरीले आज गोली चलाउनुपरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजकुमार सिंहले कैलारी गाउँपालिका–२ बाट आजै पक्राउ परेका रिदम ढुङ्गाना र मिलन चन्दलाई टीकापुरस्थित प्रहरीको हिरासत कक्षमा लैजाँदै गरिएको बेला बाटोमा पर्ने भजनी नगरपालिका–७ मा शौचगर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिनुपरेको जानकारी दिए।

गोली लागेर घाइते भएका दुवैलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ। दुवै जनाको तीघ्रमा गोली लागेको छ। टीकापुर निवासी टेकेन्द्रसिंह विष्टमाथि यही जेठ १५ गते खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा ढुङ्गाना र चन्दलाई पक्राउ गरिएको हो।