जापानमा २९ वर्षसम्म बस चालकको रूपमा काम गरेका एक व्यक्तिले यात्रुको भाडाबाट सात डलर चोरेको आरोपमा जागिर गुमाएका छन्। साथै उनले ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज पनि गुमाएका छन्।
क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी गरेको सुरक्षा क्यामेरामा देखिएको आधारमा ती चालकलाई बर्खास्त गरेको थियो। चालकले अदालतमा मुद्दा दायर गरे पनि सर्वोच्च अदालतले नगर कार्यालयको पक्षमा फैसला सुनाएको छ।
सर्वोच्च अदालतले उक्त व्यक्तिको आचरणले प्रणाली र बस सेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्न सक्ने फैसला सुनाएको हो। घटनामा पाँच जना यात्रुको समूहले १५० येनको भाडा सङ्कलनका लागि सिक्का बाकसमा खसाल्न निर्देशन दिएको र एक हजार येनको बिल चालकले हातमा लिएको उल्लेख छ।
क्योटो सिटीले यो निर्णयको स्वागत गरेको छ। क्योटोको सार्वजनिक यातायात ब्यूरोका एक अधिकारी शिनिची हिराईले जनताको विश्वासलाई कायम राख्न कडा कदम चाल्न आवश्यक रहेको बताए।